कोभिडले सिकाएको पाठ

तेस्रो विश्वयुद्धको उपमा पाएको कोरोना कहर आफैंमा युद्धको भीषण डर र त्रासदीको आँधीहुरी बनेर संसारभर फैलियो। वुहानबाट निस्किएको भाइरस चीनले करिब–करिब नियन्त्रण गरेको छ तर बाँकी विश्वमा यसको प्रभाव र विस्तारबारे कसैले अड्कलबाजी गर्न सकेन। उपचार पद्धतिमा विश्वमा उत्कृष्ट र नामुद कहलिएको इटाली, स्पेन, जर्मनलगायत अमेरिकासमेतले यसको प्रकोपलाई आफ्नो वशमा राख्न सकेनन्। अझै यो नियन्त्रणमा आइसकेको छैन। महामारीका रूपमा यसले मानव जातिलाई मात्र पिरोलेको छैन, हर क्षेत्र तहसनहस बनाएको छ। कोरोनारूपी युद्धसँग लड्ने, घरभित्र बस्ने, लुक्ने र छलिनुपर्ने अवस्था विद्यमान छ। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिकलगायत यावत् क्षेत्रमा यसले प्रभाव जमाएको छ। यसबाट सिर्जित समस्याले संसारकै अर्थतन्त्रलाई ठूलो धक्का पु¥याएको छ।

कोरोना भाइरस अकल्पनीय र अप्रत्याशित मात्र छैन, निरन्तर फैलिँदो छ। यसको सकारात्मक पक्ष भने भावी दिनमा आउने यस्ता नियमित आकस्मिकताका बारेमा भने संसारले एउटा दृष्टिकोण निर्माण गर्नेछ। प्राकृतिक र कृत्रिम कुन जीवन शैली ठीक भन्ने बहस अरू घनिभूत हुनेछ। अनावश्यक प्राकृतिक दोहन र अतिक्रमणले पार्ने प्रभावबारे मानव मस्तिष्क संवेदनशील बन्नेछ। मानव अस्तित्व जोगाउन अनेक खोज र अन्वेषण गर्नेछ। स्वास्थ्य सेवा, सुविधा र यसको आधुनिकीकरण, यान्त्रीकरण अनि सीप र दक्षतायुक्त जनशक्ति निर्माण प्राथमिकताको पहिलो सूचीमा आउनेछ। मिसायल, क्षेप्यास्त्र अणुबम, तोप, गोलाबारुद र अत्याधुनिक हतियारमा भन्दा मानव अस्तित्व रक्षार्थ आफ्नो सामथ्र्य र पुँंजी खर्च गर्नेछ।

जतिबेला अमेरिकाको अत्यधिक प्रभावित सहर न्युयोर्क र दोस्रो प्रभावित सहर न्युजर्सी आक्रान्त र भयग्रस्त थियो, त्यतिबेला नै ममा पनि श्वास बढेर, गहिरो खोकी र स्याँस्याँ हुनेलगायतका कोभिडसँग मिल्दोजुल्दो समस्या देखियो। छिटै इहलीला हुने भाग्य प्राप्त भएको त होइन भन्ने अज्ञात त्रासले मनमा डेरा जमायो। तर कोरोना जाँच गर्दा नेगेटिभ आएपछि भने दोस्रो जुनी पाए झैं भयो। त्यसपछि आपत्मा परोपकार मानवीय धर्म पूरा गर्ने संकल्प झन् बलियो बन्यो। फलस्वरूप मेरो व्यस्तता र धपेडी बढ्यो भने सहायता तथा आर्थिक संकलन गर्ने धपेडी पनि उस्तै रह्यो।

अप्रिल ९ मा अफिसबाट बिदा लिएँ। एक हप्ता राहत र उद्धारका लागि खटें। आर्थिक पारदर्शिता नै हाम्रो पहिचान र व्यवहार भएका कारण विनाहिच्किचाहट सहयोग गर्ने महानुभावको विश्वास र आस्था मसँग जोडिएको छ। परिणाम हामीले ६० भन्दा बढी परिवारका लागि राहत प्याकेज घरघरमा डेलिभरी दिएर सामाजिक कार्यमा आफूलाई जोड्ने क्रम टुटाएनौं। अमेरिका रहेबसे पनि मेरो मन नेपालभित्र छ, नेपालीको सुखदुःखमा छ। तसर्थ नेपालमा पनि लकडाउनको अप्ठ्यारोमा परेका गरिब, पीडित सीमान्तकृत वर्गका लागि राहतको व्यवस्था गर्न जुटिरहें। व्यक्तिगत र संस्थागत सहयोग बटुलेर नेपालका गोर्खा र चितवनका १०३२ घरधुरीका लागि हाम्रो संस्था एडावान नेपालमार्फत सहयोग गर्न पाउँदा खुसी लागेको छ। राहत पाएपछि विपन्न बूढाबूढी, महिला, पुरुष र बालबालिकाको मन्द मुस्कान र स्वच्छन्द हाँसो अनि कृतज्ञताको भाव विभिन्न सञ्चारमाध्यममा देख्दा अलौकिक आनन्द महसुस भयो।

आफ्नै गोजीको रकम निकालेर सुरु गरेको राहत अभियान र फेसबुकमार्फत गरेको सार्वजनिक अपिलले सार्थकता पायो। होस्टेमा हैंसे गर्ने महानुभावको साथ र सहयोगले मानवीय कर्म र धर्ममा जोडिन कति चिन्दै नचिनेका, नजाने, नभेटका मान्छेले पनि सहयोग पठाए। योभन्दा ठूलो विश्वास र भरोसा के हुन्छ एक सामाजिक कार्यकर्ताका लागि ? आर्थिकभन्दा अन्य भौतिक सामग्री औषधि र ग्रोसरी संकलन गरिएको थियो। नगदका रूपमा भने नेपाली प्रवासी मञ्चको एक हजार, नासो कम्युनिटी तीन सय, एनआरएन छ सय, स्टुडेन्ट मञ्चले तीन सय डलर सहयोग गरेका थिए। न्युयोर्कमा डिपार्टमेन्ट स्टोर पनि त्यति खुलेका थिएनन्, जति खुलेका थिए तिनमा पनि भीड र सामान पाउन मुस्किल थियो। कसैले मास्क, पन्जा लगाएका थिएनन्। कुनै पनि सुरक्षा सतर्कता अपनाएको हुँदैनथ्यो। त्यो देख्दा डर लाग्थ्यो, तैपनि उच्च जोखिम मोलेरै जसोतसो सामग्री संकलन गरियो। सामान किन्न धेरै ठाउँ धाउनुपर्ने विडम्बनापूर्ण स्थिति उत्पन्न भयो। अमेरिकामा त यस्तो अवस्था छ भने अन्यत्र कस्तो होला ? महामारीले पीपीई पनि पाउन कठिन भयो। कठिन असहजता हुँदाहुँदै थोरै गर्न सकियो। बिचल्ली र अप्ठेरोमा परेका न्युजर्सीनिवासी साउथ एसियन ६० परिवारलाई जर्सी सिटी मेयर अफिसको सहयोग र मेरो पहलकदमीमा ६ महिनासम्म पुग्ने अत्यावश्यक खाद्य सामग्री र आधारभूत रूपमा बाँच्न सक्ने प्रयोजनका सामग्री हरेक परिवारको ढोकासम्म छाड्ने प्रबन्धसमेत गरियो। यसरी छाड्दा दुःखका बीच पनि हर्ष लाग्दोरहेछ। यसरी अन्य मुलुकका मान्छेका दुःखमा मलाम लगाउँदा खुसीको सीमा रहेन।

नौ दिनको बिदापछि अफिस गएँ। मेरो कार्यकक्षको अपोजिट अस्पतालको इमर्जेन्सी छ, जहाँ सयौं बिरामी ल्याइन्छ कतिले मृत्युवरण गर्छन्। त्यो बेला बज्ने एम्बुलेन्सको हर्न र इमर्जेन्सी वार्डतिर देखिने दुःखद दृश्य अनि आफ्नो डिउटीमा अहोरात्र खट्ने डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीको धपेडीको दृश्य हेर्दा आँखाबाट आँसु झथ्र्यो। उनीहरू घरपरिवारभन्दा बिरामी ठूलो भनेर निरन्तर लागेका देखिन्थे। कतिपय चिकित्सक दौडधूप र निरन्तरको खटाइले लखतरान बनेर आफैं भेन्टिलेटरमा बसेर कृत्रिम श्वासप्रश्वास लिन बाध्य बने। कतिले दुःखद मृत्युवरण गरेको दृश्य हृदयविदारक देखिन्थ्यो। कतै आफू स्वार्थी बनेर घर त बसिनँ ? यी प्रश्न केही साथीको जटिल स्वास्थ्यस्थिति अनि केहीको हताहतीले हृदय दुखेको थियो। मन नमीठो गरेर दुख्यो आखिर सब सहनु र बुझ्नुपर्ने रहेछ भारी मन बनाएर खपियो। दुःख र पीडाले पिरोलिएर मात्रै पनि नहुने काम त गर्नैप¥यो। मैले अफिसमा छुट्टी लिएँ तर पनि घरमा बसिनँ। अप्ठेरोमा परेकाका लागि नै जुटें। समन्वय गरें। साथीभाइ गुहारें। आपत्मा परेकाको सम्पर्क लिएँ र सकेको गरें। मन बुझाएँ। तर सँगै काम गरेका वर्षौंदेखिका साथीहरूसँग संकटको बेला एक हप्ता मात्रै टाढा हुँदा कतै म स्वार्थी त भएको होइन भन्ने अनुभूति भयो। त्यो अनुभूति मात्रै हो किनकि म बिदा लिएर घरमा सुतेर बसेकी थिइनँ।

संकट, आपत्विपत् र महामारी फगत संकट मात्रै पनि हुँदैनन्। संकटमा अवसर र समय चेतको बिम्ब पनि रहेको हुन्छ। मानवताको परीक्षण पनि संकटमै हुन्छ। स्वार्थ र मानवताको कित्ताकाट पनि यस्तै घडी र पलमा देखिन्छ। मान्छेहरूको आवरण र आन्तरिक रूप पनि प्रकट हुन्छन्। भूकम्प, महामारी रोगव्याधि र कोरोनाजस्ता जैविक प्रकोपको कुनै सीमा र साँध हँुदैन संसार यति साँघुरो र लघु भइसक्यो कि एक देशको अपत्यारिलो अप्ठ्यारो, एक महादेशको असहजता त्यो देश र महादेशको मात्रै रहेन; विश्वकै साझा समस्या बनेर अन्तर्राष्ट्रियकरण हुन्छ।

अतः एउटा कुनाको विपत्ति, रोग, भोक र शोक सीमा नाघेर विश्वकै समस्या र टाउको दुखाइको विषय बन्छ। समस्याहरू यति अन्तरनिर्भर र पारस्परिकरूपमा जेलिएका, अन्तरसम्बन्धित छन् कि यसबाट विश्वको कुनै ध्रुव अछुतो बस्छु भन्न सक्दैन। को धनी, को गरिब, शिक्षित, अशिक्षित कुन धर्म, वाद, जात, सिद्धान्त कुन रङ र कुन शासक कुन शासित आखिर अस्तित्व केवल एक मुठी सासको रहेछ यद्यपि लोभलालच, झैझगडा, भेदभाव, तेरोमेरो र असमानता किन ? धर्ती, आकाश हावापानी कुनै पनि प्राकृतिक वस्तुले असमानता गर्दैन र सिकाउँदैन भने मान्छेले किन असमान व्यवहार गर्नुपर्छ ? मान्छे कालो होस् या गोरो, अग्लो होस् या होचो प्रकृतिका सन्तान सबै बराबरी होइनन् र ? दैवी प्रकोप, प्राकृतिक प्रकोप इत्यादिले सिकाउने यही हो ? समानता, मानवता, मर्यादा भ्रातृत्व र सहअस्तित्व नै संसारको अबको पारस्परिक आदर्श हुनुपर्छ। महामारी साझा हो सुदूर भविष्यसम्मको। घमण्डको प्वाँख पलाउने हरकोहीका लागि अमूल्य पाठ हो कोरोना प्रकोप। घमण्ड व्यक्तिको होस् या राष्ट्रको; जातको होस् या धनको; शक्तिको होस् या सामथ्र्यको; रङको होस् या भूगोलको; कुनै न कुनै दिन चकनाचुर बन्ने रहेछ। अतः मानव अस्तित्व रक्षा गर्न संसारभरका मान्छेका हातेमालो, सहयोग, समन्वय, समझदारी र दूरगामी दृष्टि आवश्यक देखिन्छ। आगामी दिनमा मानव कल्याण गर्ने र मानव अस्तित्व रक्षा गर्ने केही चिज हुनेछ भने त्यो स्वास्थ्य केन्द्र हो, स्वास्थ्यको प्रयोगशाला हो।

                                                                  अन्नपूर्ण पोस्टबाट साभार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button