असमानता, वर्गीय सोच र शोषण विरुद्धको प्रहार

तमसुक अर्थात संपतिको प्रमाण पत्र । हामी र हामीभन्दा अगाडिको पुस्तालाई तपसुकले हुर्काएको हुनाले हरेक व्यक्तिको तमसुकसँग केही न केही नाता जोडिएको हुन्छ । खास गरी तमसुकको नाता मानिसको आर्थिक जीवनसँग गाँसिएको हुन्छ ।

लिखितम धनीका नाम ‘। तमसुकको लेखाइ यहाँबाट शुरु हुन्छ । तमसुक लेख्ने वा लेखाउने धनी हुन्छ । चाहे स्थायी संपति घर–जग्गाको होस वा अस्थायी संपति रुपैया–पैसा हुनेको नाम नै धनीको नाम हो । धनीका नामबाट शुरु हुने यो शब्दले एउटा युगको प्रतिनिधित्व गरेको हुन्छ । त्यस युगको सामाजिक संरचनाको चित्रण गरेको हुन्छ । त्यो समाजको आर्थिक स्वरुप वा ढाँचाको छायाँ तमसुकमा देखिएकोे हुन्छ । यसले त्यो समाजमा रहेको असमानता,वर्गीय सोच,खास गरी शोषणका लागि प्रयोग गरिने साधनका रुपमा लिन सकिन्छ तमसुकलाई ।

समय बदलिदै जाँदा तमसुकवाला समाजले पनि नयाँ रुप लियो । कतै ढिलो भएको भए अब बदलिन्छ । तर समयले यसलाई त्यही पुरानो युगको चरित्र बोकेर बस्ने अनुमति दिदैन । त्यसैले ‘तमसुके’ युग अब रुपान्तरित हुनै पर्छ यदि कतै बाँकी रहेको छ भने पनि । अब तमसुकको स्वरुप बदलिनु पर्छ । चरित्र फेरिनु पर्छ । तमसुक आर्थिक कारोबार वा लेनदेनको कबुलियत वा प्रमाण पत्र हो । समयसँगै लेनदेन पनि अब विद्युतीय माध्यमबाट हुन थालेको छ । भौतिक रुपमा रुपैयाँ पैसा हाताहाती लेनदेन नगरिकन नै ठूला ठूला कारोबार हुन थालेका छन भने अब तमसुक विस्तारै इतिहास बन्दैै छ । पछिल्लो पुस्ताका लािग तमसुक शब्द कोषले जोगाएर राखिदिने शब्द मात्र बन्न सक्छ । टुकी बालेर निस्किएको ध्वाँसोको मसीव्दारा नेपाली घरेलु कागजमा बाँसको कलमले लेखिने तमसुकले हाम्रो पुस्तासम्म राम्रै राज गर्यो । तमसुकमा लगाइने दुई औंठाको छापले कतिको जीवन उजाड बनेको हुन्थ्योे । रुवाबासी चलाउथ्यो । बसाईं हिडाउथ्यो । कतिको त ज्यानै पनि लिन्थ्यो ।

हामीभन्दा अघिको पुस्ताले यही तमसुके युगको सामना गर्यो । अहिले पनि हाम्रा कतिपय बस्तीहरु त्यही तमसुके युगमा छन । यो युगको अन्त्यको पर्खाइमा छन । बदलिएको परिबेश जहाँ तमसुक युगको विधिवत अन्त्य भइसकेको छ, , त्यहाँ नयाँ युगलाइ प्रबेश गर्न नदिन पुरानो तमसुके युगका प्रतिनिधिहरु प्रयास गर्दा हुन । उनीहरु सपना पनि देख्दा हुन । तमसुक युगलाई स्वर्ण युग ठान्दा हुन । उनीहरुका लागि त्यो युग स्वर्ण युग नै थियो । तर आम मानिसहरुका लागि यो अभिसाब नै थियो ।

हुने खाने र हुँदा खानेका बीचमा दरार खडा गरिदिने ,दूरी बढाई दिने र हुँदा खानेलाई पीडा थप्दै जाने “दृष्य भाइरस” थियो तमसुक । हुन तर हामी फरक परिबेशमा आइपुगेको हुनाले तमसुक युगको अन्त्य भइसक्यो भन्ने ठानेको पनि हुन सक्छ । यदि हाम्र्रो मातृभूमिका कुनै दुर्गम बस्तीमा तमसुक युगले राज गरिरहेको छ भने अब त्यो राजको अन्त्य हुनु पर्छ । अब कुनै तमसुक बस्तीमा तमसुक युगले राज गरिरहेको छ भने त्यो अन्त्य हुनु पर्छ । अब कुनै आर्थिक कारोबार तमसुकमा अडिन सक्दैन ।

तमसुकले त्यस युगलाई टिकाएर राख्न सक्दैन । अब तमसुकहरुले आत्मसमर्पण गरे हुन्छ । अब तमसुकलाई सभ्यताको कोशीले बगाउने छ । तमसुकलाई आधुनिकताको बतासले उडाउने छ । कारोबार अब इन्टरनेटको माध्यमबाट हुन्छ । तमसुक त अब इतिहासको पन्ना बनिसक्यो । पछिल्लो पुस्ताले इतिहासको रुपमा किताबमा पढ्ने विषय वस्तु बन्ने छ तमसुक ।

आज यो छोटो आलेख तयार गर्न प्रेरित गर्ने मेरा मित्र हुन पदम विश्वकर्मा । नेपालमा लमजुंग धमिली कुवा घर भएका मित्र पदम कोलोराडोको डेनभर शहरमा बस्छन । अन्तराष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष पदमले मलाई पढुन प्ररित गरेको किताब अमेजनबाट प्राप्त भए पछि यो लेख्न जाँगर बढेको । “तमसुक” पदम विश्वकर्माको कथा संग्रह हो । तेइसवटा कथा संग्रहित उक्त पुस्तकको शीर्ष कथाले मलाई यति लेख्न प्रेरित गर्यो । तमसुक युगको तीतो यथार्थ कथामा छर्लंग छ ।

हिजो अस्तिसम्म हाम्रो समाज तमसुक युगको अध्येरी रातमा कतै हराइरहेको थियो । त्यो अध्यारोमा हाम्रो समाजले धेरै गुमाएको छ । हाम्रो मातृभूमि त्यो युगको अध्यारोबाट भरखर झिसमिसे उज्यालोतर्फ आफ्नो पाइला अघि बढाउन कोशिष गर्दैछ । तमसुक युगमा जसले रजाई गरेको थियो त्यो पुस्ता अहिले पनि कुनै पश्चाताप विना नयाँ युगको यात्रामा सँगै हिड्न खोज्दै छ । हिड्न त दिनु पर्छ तर तिनीहरुलाई नयाँ युग आइसकेको हेक्का दिलाउनु पर्दछ ।

पदमको “तमसुक” आधुनिक र यथार्थ कथाहरुकै संग्रह हो । हर्कबहादुर र हरिमाया तमसुक युगका पीडित पात्र हुन । उनीहरुले चार्ड मनाउन लिएको एक हजार रुपैयाको तमसुकमा औंठा छाप लगाउदा ऋण बढेर ५० हजार भएको र यो ऋण दिएको गुन तिर्न मात्रै पनि दुबै जनाले साहुबाको घरमा काम गरिदिनु पर्ने चरम शोषणको दृष्य कथामा देखिन्छ । पछि दोश्रो पुस्ताले तमसुकबाट पाएको पीडा र बोझ दुबैबाट परिवारलाई मुक्त गराएको कथामा लेखिएको छ ।

तमसुकमा संग्रहित सबै कथाहरु पठनीय र शिक्षा मुलक छन । कथाहरु पढ्दा कथाकारको पहिलो कथा संग्रह जस्तो लाग्दैन । यस भित्रका कथाहरुले गाउँ घरको अभावग्रस्त जीवनदेखि प्रवासमा भोग्नु पर्ने संघर्षका कथा,उपलब्धिहरु, हाम्रो नजरमा प्रवासका ‘स्वदेशीहरु’ नयाँ परिबेशलाई आत्मसात गर्न नसक्दाका भोगाइहरु समेटेको छ । फरक परिबेशको जीवनशैली, संघर्षका कथा र यौन तथा प्रेम जस्ता विषय पनि संग्रहमा समेटिएका छन । यस कथा संग्रहले कथाकारलाई लेखनमा एक तला माथि उठाउन सक्ने सामथ्र्य राख्छ । साभार इनेपालीज डट कम

—विष्णु शीतल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button